
मेरो भनाई
म भन्दा नि अझ अघि बढिदिनु ल
"आनन्दै छ जिन्दगी" यो पढिदिनु ल
२०४५ सालमा दशरथ रङ्गशालामा भएको हृदयविदारक घटनाले उद्वेलित मनमस्तिस्कबाट पहिलो पटक एउटा कविता लेखें । साहित्यिक यात्रा भनौँ वा कविता लेखनको शुरुआत दुखद् घटनाबाट शुरू भयो ।
२०४६ सालमा खानेपानी तथा ढल निकास विभागको रसुवा धुन्चेको अस्थायी जागिरे जीवनमा धेरै कविताहरु लेखेँ । कहिले गणेश हिमाल हेर्दै लेखेँ,कहिले लाङटाङ हेर्दै लेखेँ । कहिले गतलाङ पुगेर लेखेँ त कहिले स्याफ्रु र रसुवागढी पुगेर लेखेँ । कविता लेख्ने क्रम अविरल बगिरह्यो तर सेतीझैँ बगिरह्यो भित्रभित्रै । २०६० सालतिर होला सायद,केही कविताहरु पीस साप्ताहिक लगायतका पत्रिकाहरूले नियमित प्रकाशनमा ल्याएका थिए ।
प्रत्येक मानिस कवि हुन् ,फरक यत्ति हो, कसैले शब्दलाई, सबैले देख्ने गरी भावनामा पोख्छ त कसैले पोख्न नजानेर एक्लै लुकाएर पिउँछ । मैले पनि जिन्दगीका उकाली ओरालीहरूसँगै यस्ता भावनाहरू कति पिउँदै पोखाउँदै २०६६ सालसम्म आउँदा ब्रेन ट्यूमरले पत्तै नदिई मेरो शिरमा डेरा जमाइसकेको रहेछ । भर्खर – भर्खर फेसबुकमा रमाईरहेको मनमा सो रोगको उपचार गर्न जानुपूर्व छातिभित्र बाँच्ने र मर्ने विषयले आन्दोलन गर्दैगर्दा लेखिएका हरफहरू यस्ता थिए–
‘...............मलाई ब्रेन ट्यूमर भएको रहेछ । म उपचार गर्न जाँदैछु । आजसम्म मलाई चिन्नुहुने मेरा इष्टमित्रहरू , ब्रेन ट्यूमरको अपरेशनमा कमै मात्र मान्छे बाँचेको देखेको छु , बाँचिएछ भने फेरि भेटौंला अन्यथा मबाट जानाजान कुनै गल्ति भएको रहेछ भने मलाई माफ गरिदिनुहोला । म मेरी श्रीमती र भाइ डा.किरण(श्रीमतीको भाइ)लाई उपचारको क्रममा साथै लिएर जाँदैछु । कुनै जानकारी लिनु परे ................... नम्बरमा सम्पर्क गर्न सकिने छ ।’ (यस्तै यस्तै)
मेरी प्यारी अर्धाङ्गिनीको अथक प्रयास र उनको भगवानसँगको प्रार्थनाले सही समयमा सही चिकित्सकको हातबाट शल्यचिकित्सा हुनुले र थुप्रै इष्टमित्रहरूको सद्भाव र मायाले मैले पुनर्जीवनको जीवनदान पाएँ र आज यहाँहरू समक्ष यो कृति लिएर उपस्थित भएको छु । मैले मेरी उनीलाई दिनुपर्ने धन्यबाद स्वरूप यो कृति उनैमा समर्पित गरेको छु ।
गजल लेखन कार्य मैले २०६७ पुषतिरबाट शुरु गरें जतिखेर मलाई गजलको संरचना बारे जानकारी नै थिएन । मैले शुरूमा लेखेको गजल (गजल एक प्रयास)यस्तो थियो –
रात कालो भई अझै किन सामु छाइरहेछ
यो मुटुमा अझै किन तिम्रो याद आइरहेछ
यसको दोश्रो शेर यस्तो थियो –
तिम्रो याद मेटाउन धुवाँलाई पिइरहेछु
आहत यो मुटुसँगै उद्विग्न भई जिइरहेछु
यस्ता हरफलाई शेरको रूपमा प्रस्तुत गर्दा फेसबुकमा गाली त खाएँ नै तर धेरै परिश्रम गर्न पनि सँगसँगै सिकायो ती गाली र सुझावहरूले । यस्तैमा मलाई नेटको भेटले मिलायो कवि श्री बसन्त श्रेष्ठ क्षितिजलाई । वहाँले पहिलो भेटमै डा.सनत कुमार वस्ती ज्यूको ‘वाह ! गजल’ पुस्तक उपहार दिनु भयो र म लगातार सोही पुस्तकको अध्ययनमा लागेँ । दैनिक गजल लेखि रहें,कहिले एउटा त कहिले तीनवटासम्म । कहिले मायाको गजल लेख्न सिकेँ,कहिले देशभक्तिको । कहिले शिवरात्री विशेष त कहिले फागुपूर्णिमा विशेष । मेरो गजल लेखाइमा फेसबुकले पनि साथ दिंदै गयो । फेसबुक नहुँदो हो त सायद मेरा गजलहरू पनि कविता झैं कागजका पानाहरूमै सीमित हुन्थे होलान् सेती नदी झैं भित्र–भित्रै । मेरो गजल लेखनमा मेरो फेसबुकका मित्रहरूको सूची (Friend's List)मा रहनु भएका थुप्रै आदरणीय अग्रजहरुको भरपूर साथ मिलेको छ त्यसैले त मेरो यो यात्राले यहाँसम्मको दूरी सजिलै पार गर्न सफल भएको छ । मेरा गजलहरू अभ्यासका क्रममा तयार भएका छन् । म अझै सिक्दैछु र सिक्न धेरै बाँकी छ भन्ने लागेको छ ।
अन्त्यमा मलाई सहयोग गर्नुहुने सबै स्रष्टाहरूमा हार्दिक आभार व्यक्त गर्दछु । मेरो गजलहरूका विषयमा आफ्नो मन्तव्य राखी शुभकामना दिनुहुने श्रद्धेय दाजु वरिष्ठ गजलकार एवम् प्राज्ञ श्री ललिजन रावलज्यूलाई र यस सङ्ग्रहको आवरण डिजाईन गरिदिनुहुने कलाका धनी गीतकार दाजु रमेश पौडेलज्यूलाई हृदय रित्तिने गरी धन्यवाद् टक्र्याउँदछु ।
सबै दियौ छाड्यौ यही धर्तीमा शुन्य कमायौ तिमीले
लाखौँ लाख शुभकामना दियौ पुण्य कमायौ तिमीले
– आनन्द श्रेष्ठ
No comments:
Post a Comment