साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Sunday, September 16, 2012

यो कस्तो विधा हेरौ त !


1 . घोचो शब्दको व्युत्पत्ति र अर्थ
घोचो शब्द घोच् धातुमा ओ प्रत्यय जोडिएर बनेको कृदन्त व्युत्पन्न शब्द हो । यसको अर्थ कुनै बस्तुलाई घोच्न प्रयोग गरिने बस्तु हुन्छ । उदा। घोचाले नरिवल झार्छ वा भनौ मेवा झार्न घोचाको प्रयोग गर । यसलाई लक्ष्यार्थ र व्यङ्ग्यार्थका रुपमा पनि प्रयोग गरिन्छ । उदा. घोचाघारा बटुलेर ल्याउनू । त्यसका तिखा वचनले घोचाले जस्तो घोच्छन् । साहित्यिक
बिधागत रुपमा घोचोको अर्थ खुलाउनु पर्दा कुनैपनि बिषय ( बिषय एक वा एक भन्दा बढीपनि हुन सक्छन ) मा केन्द्रित भएर कसैप्रति गरिने चोटिलो प्रहार जुन घोचो जस्तै तिखो हुनु पर्दछ र सटिक, चुस्त एवं यसको भावले पाठकको मन मुटुलाई च्वास्स छुन सक्ने किसिमको हुनु पर्दछ ।


2 . साहित्यिक विधाका रूपमा घोचो
घोचो एक नयाँ साहित्यिक बिधा हो । अरु बिधाहरु जस्तै यो पनि स्वतन्त्र हैसियत भएको बिधा हो । यसकोपनि आफ्नै संरचना छ, गजल बिधासँग मिल्दो जुल्दो भएतापनि गजल भन्दा फरक अनि पृथक बिधा हो भनेर बुझ्नु पर्छ र त्यसरी नै लिनु पर्छपनि । त्यसैले गजलको दुई शेर भए यो बिधालाई पुगि हाल्ने रहेछ अनि पहिलो र दोश्रो शेरको सानीलाई कपि गरेर तेश्रो शेर बनायो सकि हाल्यो नि भनेर त्यसरी नजर अन्दाज भने गर्नु हुन्न है किनभने तेश्रो शेरले घोचो कस्तो भयो भन्ने कुरा जनाउँछ र त्यसैले नै तपाइँलाई घोचो बिधामा पास वा फेल के हुनु भयो भन्ने कुरा सजिलै बताउँछ । अनि अर्को कुरा घोचोमा प्रयोग गरिएका शेरहरु यति शक्तिशाली हुनुपर्छ कि त्यसले मान्छेको मन मुटुलाई चसक्क छुन सकोस । पाठकहरु हाँशेपनि दिल खोलेर हाँश्न सक्नु होस अनि रोएपनि दिल खोलेर ।
3 . घोचोः आधारभूत तत्वहरु
क . संरचना
क . 1 . बाह्य संरचनाः
घोचोको बाह्य संरचना तीन जोडी लहरहरु (गजलका सन्दर्भमा शेर ) मिलेर निर्माण हुन्छ जसको पहिलो शेर गजलको मतला झैँ दुवै मिसरामा काफिया र रदिफको समन्वयबाट बनेको हुन्छ , दोस्रो जोडीको दोस्रो पङ्क्तिमा गजलका मिसरा ए सानीमा झैँ नै काफिया र रदिफ रहन्छन् तथा तेस्रो श्लोकको निर्माण क्रमशः पहिलो जोडीको दोस्रो लहर र दोस्रो जोडीको दोस्रो लहर राखेर निर्माण गरिएको हुन्छ ।
क . 2 . आन्तरिक संरचनाः
तीन जोडीमा जीवनजगतका कुनै एक महत्वपूर्ण विषयमा अनुभूतिको प्रकाशन हुने र तेस्रो जोडी पूर्वसंरचनाभित्रैबाट निर्माण हुने हुँदा अनुभूतिको तिब्रता र पूर्णतामा सचेत हुनु जरुरी छ । माथिल्ला दुई जोडीका हरफ जोडेर तयार हुने तेस्रो जोडीबाट नया भाव र स्वाद प्राप्त हुनु पर्ने कुरामा पनि उत्तिकै सचेतता आवश्यक छ ।
ख . लय
घोचो एक लय प्रधान गेय विधा हो जसमा जोडीहरु सममात्राका आधारमा निर्मित हुन्छन् । विधागत रुपमा छुट्टै छन्द बहरहरू नभएर लयप्रधान विधाहरुमा प्रयोग हुनसक्ने जुनसुकै संगीतमैत्री लयको प्रयोग यसमा गर्न सकिन्छ ।
ग . विम्बप्रतिक
अभिव्यक्तिलाई कलात्मक र सम्प्रेषणीय बनाउन कविता , गीत , गजल आदि विधामा झै घोचोमा पनि विविध सहजसंवेद्य विम्बप्रतिकहरुको प्रयोग गर्न सकिन्छ ।
घ . भाव
घोचो मुख्यतः व्यङ्ग्यप्रधान विधा भएकाले यसमा त्यसै अनुकुल भावविधान गरिएको हुन्छ । सामाजिक , आर्थिक , राजनैतिक , प्रवृत्तिगत आदि जुनसुकै विषयवस्तुमा विम्बप्रतिकका माध्यमले भावविधान गर्न सकिन्छ ।
घोचोका केही उदाहरणहरु
# घोचो (एक )
काँढो तान्छ पछ्यौरी यो बाटो छेक्छ भँगालो
आतुर छु फुकाउनु छ बिछोडको सँगालो

बेला पनि चिप्लिएर हातबाट भाग्दो छ
खोसियो कि पर्खिरा'छ मलाई , उनको अँगालो

आतुर छु फुकाउनु छ बिछोडको सँगालो
खोसियो कि पर्खिरा'छ मलाई उनको अँगालो
भक्ति प्रसाद पौड्याल

# घोचो (दुई )

साँचो कुरा बोले मैले तिमीलाई रुवाएँ कि
कोमल त्यो मन तिम्रो मैले साँच्चै दुखाएँ कि

देखेको त्यो कुरा बोल्ने मेरो बानी नराम्रो हो
तिमीलाई आफ्नै जानी धाक मैले जमाएँ कि

कोमल त्यो मन तिम्रो मैले साँच्चै दुखाएँ कि
तिमीलाई आफ्नै जानी धाक मैले जमाएँ कि
नीरस मैनाली

# घोचो (तीन )
पिरतीमा पैसा संग झुटो बाचा खाउ तिमी !
रोजगारी छैन यहाँ डिस्को तिर धाउ तिमी !!

फेशनले मार्यो बरै आँखै छोपी हिड्नु पर्ने !
महंगी छ कपडा'नि आधा मात्रै लाउ तिमी !!

रोजगारी छैन यहाँ डिस्को तिर धाउ तिमी !
महंगी छ कपडा'नि आधा मात्रै लाउ तिमी !!
रबिन प्रधान "प्रतिक"



र, अन्त्यमा

साहित्यको नयाँ बिधा घोचो हामी तीन मित्रहरु ( नीरस मैनाली, Rabin Pradhan Pratik र Raj Kandel Niras) को संयुक्त प्रयासबाट यस साहित्यिक बिधाको थालनी भएको हो । हामी बिशेष आभार प्रकट गर्न चाहन्छौं Bhakti Prasad Paudyal सरमा जसले हामीलाई घोचो बिधामा परिमार्जन गर्न धेरै सहयोग गर्नु भयो र उचित सल्लाह एवं सुझाब दिई एक अबिभावकको भूमिका निभाउनु भयो । उहाँको अमूल्य सल्लाह र सुझाब बिना घोचो बिधामा हामी यति धेरै सफल हुन सक्ने थिएनौ र शायद दुर्इ चार महिना पछाडी यो बिलाएर जान्थ्यो होला । तर अब के लाग्छ भने घोचो बिधापनि नेपाली साहित्यिक आकाशको एक तारा बन्ने छ र पछि सम्म चम्किरहनेछ, जुन काममा भक्ति सरको योगदान अतुलनिय रहेको छ भनेर हामी सधैं भनि रहन्छौं र आगामी दिनमा समेत उचित सल्लाह, सुझाब दिई हाम्रो हौशला बढाउनु हुनेछ भन्ने अपेक्षा गरेका छौं । अनि अर्को सम्झनु पर्ने नाम आउँछ Palpali Milan– उहाँले हाम्रो कार्यलाई मन पराएर आफ्नो साहित्यिक ब्लग http://palpalimilan.blogspot.com/ मा यसलाई स्थान दिनु भयो । उहाँको यो सहयोगपनि हाम्रोलागि अतुलनिय रहेको छ र आगामी दिनमापनि यस्तै सहयोगको निरन्तर अपेक्षा गर्दछौं । थप हौशला प्रदान गर्नुहुने मित्रहरुको नाम लिनु पर्दा–Arati Kc, Muna Sigdel, साथी समिर, Pushkar Sharma Chapagain, Umesh Niraula, Bed Thapa, Surya Khatri र अन्य नाम लिन छुटेका साहित्यिक मनहरु, मित्रहरु जसले हामीलाई निरन्तर हौशला एवं सहयोग गर्नु भएको छ । उहाँहरुको योगदान, उहाँहरुको हौंशलालेपनि हामीलाई यो बिधामा लाग्न उत्प्रेरित गराएको थियो र आज हामी यस ठाउँसम्म आउनुमा उहाँहरुको ठूलो योगदान रहेको छ । उहाँहरुप्रतिपनि हार्दिक आभार प्रकट गर्दछौ र भबिष्यमा समेत निरन्तर सहयोगको अपेक्षा गरेका छौं अनि अहिले सम्म यस बिधामा कलम चलाउनु हुने सम्पूर्ण साहित्यिक मनहरुप्रति समेत हार्दिक आभार प्रकट गर्दछौं र भबिष्यममा समेत यसरी नै यो नयाँ बिधामा उहाँहरुको कलम चलिरहोस भन्ने कामना समेत गर्दछौं ।

साभार गरिएको 
नीरस मैनाली (नोट )


 घोचो :-

रंगी चंगी माहोल छ उदास बस्नु कसरी म 

समिपमा छैनौ भन्दै निरास बस्नु कसरी म ||


साथी संगी रमाइलो रातो घुम्टी काधमा सारी 

भरोसामा छैनौ तिमि उपहास बस्नु कसरी म |



समिपमा छैनौ भन्दै निरास बस्नु कसरी म

भरोसामा छैनौ तिमि उपहास बस्नु कसरी म ||



संजय कुमार खड्का 
रामेछाप देउराली _८ 

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल